काठमाडौं । नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पिकयन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम अघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको विरुवा रोपेका थिए । सो वृक्षारोपण कार्यक्रममा चार पटक ओलम्पिकमा सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी, प्रमिला रिजाल र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग सहभागी थिए ।
आयोजित अन्तक्र्रियामा ओलम्पियनहरुले झण्डै चार सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साटेका थिए । नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियान बारे प्रकाश पारेका थिए ।
ओलम्पियन बैकुण्ठ मानन्धरले नेपाली ओलम्पियनहरुले आफ्नै बलबुताले नेपाल र नेपालीको गौरव उचो राख्ने काम गरेको बताए । मानन्धरले एपीएफ स्कूलका धावक अजित यादवले जुनियर एशियन च्याम्पियनसिप जितेको उदाहरण दिंदै चाह्यो भने सबैले खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए ।
त्यस्तै, छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालको पहिलो पुरुष खेलाडी दीपक बिष्टले आफूले निकै ढिलो तेक्वान्दो शुरु गरेर पनि सफलता प्राप्त गरेको भन्दै सानै उमेरबाट खेलकुदमा लागे सफलता छिटो हात लाग्ने बताए । चोटग्रस्त हुँदा पनि राष्ट्रको लागि खेल्नुपर्छ भन्ने भावना भएकाले नै आफूले चार पटक सागको स्वर्ण पदक, एसियाली खेलकुदमा दुई कास्य पदक र ओलम्पिकमा सहभागिता जनाउन सफल भएको उल्लेख गरे ।
धावक राजेन्द्र भण्डारीले डोपिङ प्रकरणमा परेर सागको दुई वटा स्वर्ण गुमाएको प्रसङ्गलाई जीवनको कालो दिनको रुपमा लिएको बताए । तर, आफूमाथि लागेको दागलाई मेट्नैपर्छ भन्ने उदेश्य लिएर अघि बढ्दा नै सागमा अर्को स्वर्ण जित्न सकेको उनले सुनाए । खेलाडीको जीवनमा नसोचेका उतारचढावहरु आउने भएकाले चनाखो हुन उनले आग्रह गरे ।
ओलम्पियन प्रमिला रिजालले महिलालाई अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा लाग्न पनि सजिलो नरहेको बताइन् । घर परिवार र समाजको बन्धनलाई चिर्दै अघि बढेकाले नै आफू एपीएफ क्लबको एकमात्र ओलम्पिन हुन सकेको उनले सुनाइन् ।
कार्यक्रममा फुटबलका पूर्वकप्तान अनिल गरुङले नाम र दामको लागि भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झण्डा अङ्कित जर्सी लगाउने लोभमा आफू फुटबलमा लागेको सुनाए । देशकै अवस्था राम्रो हुन नसकेकाले खेल र खेलाडीको अवस्थामा सुधार नआएको उनको कथन थियो ।
अन्तक्र्रियामा विद्यार्थीले खेलाडीहरुलाई नेपालमा खेल र खेलाडीको अवस्था, खेलमा लागेर हुनसक्ने कमाई, राज्यले लिएको खेल नीति र ओलम्पिकमा सहभागिता जनाउन गर्न पर्ने मिहेनतबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा एपीएफ स्कूलका विद्यार्थीले नृत्य र तेक्वान्दोको फाइट प्रस्तुत गरेका थिए ।
एपीएफ स्कूलका प्रधानाध्यापक युवारज पराजुली र स्कूल इन्चार्ज डीएसपी लक्ष्मी थपलियाले ओलम्पियनहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । ओलम्पियनहरुको जीवनबाट विद्यार्थीहरुले धेरै नै सिक्ने मौका पाएको उनीहरुको कथन थियो ।
संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरिसकेको छ । छिट्टै नै गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम गरिने संघका अध्यक्ष दीपक बिष्टले जानकारी दिए ।