काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । विहिबार सम्पन्न खेलमा पोखराले साबिक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको हो ।
पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ३० रन बनाउन सक्यो । जनकपुरका लागि वाइनी पार्नेलले ३८ बलमा २ चौका र ४ छक्कासहित सर्बाधिक ५० बनाएर रिटयर्ड हर्ट भए ।
त्यस्तै संजय कृष्णमुर्थीले २५ रन, माज सदाकतले २० रन र ललित राजवंशी अविजित १० रन बनाउँदा जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा पोखराका लागि विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर सर्बाधिक ४ विकेट लिए । सुमीत बर्माले २ विकेट तथा कप्तान कुशल भुर्तेल र जिम्मी निशामले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो । पोखराका लागि सुमित बर्माले २८ बलमा २ चौका ४ छक्कासहित सर्बाधिक ५० रन बनाएका थिए ।
दिनेश खरेलले ३८ रन, तृत राज दासले २९ रन र एडम रोसिंगटनले २४ रन बनाएका थिए । बलिङमा जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ३ विकेट लिए । ललित राजबंशी र अनिल शाहले समान १/१ विकेट लिएका थिए ।
यो यस सिजनमा पोखराको पहिलो जित हो । पोखराको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ । त्यस्तै साबिक विजेता जनकपुरले लगातार तेस्रो हार बेहोरेको छ ।