काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताएका छन् । दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिका अध्यक्ष मन्त्री पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा भएको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने कुरामा शंका नगर्न आग्रह गरेका हुन् ।
‘पटक पटक मिति सरेकोले फेरिपनि नहुने हो कि भन्ने शंका गर्नु स्वभाविक हो । तर, यसपाली प्रतियोगिता निर्धारित समयमै हुन्छ । कुनै द्विविधामा नरहनु होला’ उनले भने– ‘ मूल आयोजक समितिको बैठक यहाँ हुनु नै दसौं राष्ट्रिय खेलकुद सुरु भयो भन्ने सन्देश दिनु हो। राष्ट्रिय खेलकुदलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सरोकारवाला सबैको साथ र सहयोगका लागि आग्रह गर्न चाहन्छु ।’
बैठकपछि मन्त्री पोखरेलले कर्णाली प्रदेश रंगशाला हातामा रहेको विभिन्न खेल पूर्वाधारको अवलोकन समेत गरेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बैठकबाट कर्णाली प्रदेश दसौं राष्ट्रिय खेलकुद गर्न सक्षम भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे ।
बैठकले दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म आयोजना गर्ने राखेप बोर्डको निर्णयलाई सहमति प्रदान गरेकोमा नेपाल सरकारप्रति धन्यवाद प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । दसौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र व्यवस्थित रुपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।
दसौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली (नेपाल प्रहरी-नेपाल आर्मी-एपीएफ) र गैर आवसीय नेपाली संघसहित ११ टिम सहभागी गराउने, दसौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गराउने, प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आवश्यक कार्य गर्ने गराउने, दसौं राष्ट्रिय खेलकुदलाई भब्य, सभ्य र व्यवस्थित रुपमा सञ्चालन गर्न निजी संघ संस्थालगायत सबै सरोकारवाला निकायको सहभागितामा जोड दिदै सार्वजनिक निजी साझेदारीको अवधारणा आवलम्बन गरी प्रायोजकसंग सम्झौता गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका-२०८३ को दफा ५ मा भएको मूल आयोजक समितिको काम, कर्तब्य र अधिकार अन्तर्गतको खण्ड (च) मा ‘प्रतियोगिता आयोजना सम्बन्धी आवश्यक कार्य गर्न कार्य सम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने’ भन्ने व्यवस्था अनुसार दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न गराउन कार्य सम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले दसौं राष्ट्रिय खेलकुदको विविध पक्ष बारे जानकारी गराउदै प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगका लागि आग्रह गरे ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दसौं राष्ट्रिय खेलकुदको प्रचार प्रसार उपसमितिकी संयोजक समेत रहेकी राखेपकी सदस्य मोनालिशा खम्बुले बैठकको निर्णय सार्वजनिक गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा सदस्य–सचिव मेहताले राष्ट्रिय खेलकुदका लागि ४४ करोड ८० लाख बजेट विनियोजन भएको बताउदै अपुग रकमको हकमा उक्त बजेटसहित जम्मा ७१ करोड बजेटका लागि नेपाल सरकारबाट सहमति प्राप्त भएको बताए । उनले पारा राष्ट्रिय खेलकुद करिब पुस १५ देखि सुरु हुने बताउदै त्यसका लागि ३ करोड ५० लाख बजेट विनियोजन भएको बताए ।

उनले राष्ट्रिय खेलकुदमा करिब ६ हजार ५ सय खेलाडी तथा अफिसियल गरी ९ हजारको सहभागिता रहने जानकारी गराउदै मूल आयोजक समितिको बैठक कर्णाली प्रदेश रंगशालामा आयोजना गर्नु राष्ट्रिय खेलकुदको सुनिश्चितता भएको बताए । उनले विशेष परिस्थितमा बाहेक सबै खेल कर्णाली प्रदेशमा आयोजना हुने बताउदै ३२ खेल मध्ये कर्णाली प्रदेशमा कम्तीमा २८ खेल हुने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले बसोवासमा असहज नहोस् भन्ने उद्देश्यले राष्ट्रिय खेलकुदको अवधि विगतको भन्दा लामो समय राखिएको बताउदै बसोवासलाई अझ सहज बनाउन उद्घाटनअघि पनि केही खेल सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । उनले सकेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने लक्ष्य रहेको बताउदै खेल संघसंग निरन्तर संवादमा रहेको बताए ।
आइतबारै राखेप सदस्य–सचिव मेहता, कर्णाली प्रदेश खेलकुदका सदस्य–सचिव चन्दलगायतको उपस्थितिमा स्थानिय सरोकार, चार विषयगत उपसमिति सुरक्षा, स्वास्थ्य, बसोवास र खेलस्थल उपसमितिको बैठक पनि भएको थियो ।