काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न क्वालिफायर २ अन्तरगतको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो ।
चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन, कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन र इशान पाण्डे र आरिफ सेखले समान १०/१० रन बनाएका थिए । चितवनका लागि रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यस्तै, सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाउनुबाहेक चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि स्कट कुगेलाईनले सर्बाधिक ३ विकेट लिए । यस्तै, थारिन्दु रत्नायकेले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले समान १/१ विकेट हात पारेका थिए ।
सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्सको सामना गर्नेछ । यसअघि दोस्रो सिजनको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै पुगेका थिए । जसमा लुम्बिनी विजेता बनेको थियो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो ।