काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न भएको लो स्कोरिङ खेलमा सुदूरपश्चिमले जनकपुरलाई २७ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछाएको जनकपुरले १९.५ ओभरमा अल आउट हुदै ९३ रन मात्र बनाएको थियो । जनकपुरका लागि तृत राज दासले २१ रन, जिमी निशमले २० रन, राहुल यादवले ११ रन र आदित्य महताले १० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायाके, दिपेन्द्र सिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।
थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडे । त्यस्तै आरिफ शेखले ११ रन तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १०/१० रन बनाएका थिए ।
जनकपुरका लागि कप्तान हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १/१ विकेट लिएका थिए ।
यस जितसँगै ६ खेलमा चौथो सफलता हात पारेको सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ र प्लेअफ प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर ६ खेलमा चौथो हार बेहोर्दै ४ अंकसहित पाँचौँ स्थानमा छ ।
समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानको काठमान्डु गोर्खाजभन्दा पछि छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । जनकपुरले भने अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।
एनपिएलमा बुधबार विश्राम रहेको छ । बिहिबार पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।