काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।
यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए भने कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाएका थिए । यस्तै, आसिफ शेखले ८ बलमा ४ रन, सन्दीप जोराले १३ बलमा ८ रन बनाए भने दीलिप नाथ १० रनमा अविजित रहेका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले २ विकेट तथा हेमन्त धामी र स्कट कुगलेइनले समान १/१ विकेट लिएका थिए । यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्कासहित सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
बलिङतर्फ लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २/२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले समान १/१ विकेट लिएका थिए ।
पराजित सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ । एलिमिनेटर खेलमा बुधबार काठमाडौ गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।