काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो ।
योसँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोलि बन्यो । सुदूरपश्चिम लिग चरणको ७ मध्य ५ खेलमा जित र २ खेलमा हारसहित १० अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको हो । काठमाडौं ६ मध्य ४ खेलमा जित र २ खेलमा हारसहित ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ ।
सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १८ रन मात्र बनाएको थियो । काठमाडौंका लागि रासिद खानले अविजित ३५ रन, दुसान हेमान्थाले २१ रन, साम हिजलेटले ११ रन तथा सन्तोष यादवले १० रन बनाउँदा काठमान्डुका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए । त्यस्तै फाबियन एलेन, स्कट कुगलेइन र हेमन्त धामीले समान १/१ विकेट लिएका थिए ।
.jpg)
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । यस्तै थरिन्दु रत्नायकेले २६ रन र आरिफ शेखले २१ रनको योगदान गरे ।
२.३ ओभरमा ८ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन, विनोद भण्डारीले १ रन तथा ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता समेत खोल्न नसकी शून्य रनमै पभेलियन फर्किएका थिए ।
काठमाडौंका जहानदाद खानले सर्वाधिक ३ विकेट लिए । सन्तोस यादवले २ विकेट लिए । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।