काठमाडौं । मातृभूमि र भ्याली पब्लिकले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मातृभूमि सिनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गर्ल्समा पहिलो भए ।
हात्तीगौडास्थित आयोजक टीआईएको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मातृभूमिले काठमाडौं जेयिभर्सलाई ३७–१९ ले पराजित गर्यो । मातृभूमिको जितमा सक्षम महर्जनले १२ अंक योगदान गरे ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः १५–४ र ११–१ को अग्रता लिएको मातृभूमि तेश्रोमा ४–९ ले पछि परेको थियो । मातृभूमि चौथो क्वाटरमा ६–५ ले अघि रह्यो ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १३ अंक सहयोगमा भ्याली पब्लिकले बौद्ध चिल्ड्रेन हेभन स्कुललाई ३०–२३ ले हरायो । भ्याली पब्लिकले पहिलो क्वाटरमा ४–६, दोश्रोमा १२–६, तेश्रोमा ८–८ र चौथोमा ६–३ को प्रदर्शन गर्यो । सिनियर ब्वाइज÷गर्ल्स दुवैमा पहिलो हुनेले २० हजार र दोश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।
सिनियर ब्वाइजमा मातृभूमिका आभास राउत तथा महिलामा भ्याली पब्लिककी सेलिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, युनाइटेड टुङ्रम बुद्धिस्ट फाउन्डेसनका महासचिव एवं टुङ्रम इन्टरनेसनल एकेडेमीका व्यवस्थापन सदस्य सोनाम ग्यूर्मेद, टीआईएकी प्रिन्सिपल नीरा प्रधान, टीआईएका प्रशासन प्रमुख अशोककुमार श्रेष्ठ, एकेडेमिक हेड डोलेश्वर निरौला, कार्यक्रम निर्देशक उज्ज्वल रिजाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा सिनियर गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।