काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तगर्त काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डूले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । काठमाडौँका लागि रशिद खानले अर्धशतक बनाउँदै ५० रन जोडेका थिए । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी बनेका छन् ।
यस्तै, कप्तान करण केसीले ४४ रन, जहानदाद खानले अविजित २२ रन, आदील आलमले २० रन र डेभिड वार्नरले १६ रन बनाएका थिए । काठमान्डुले अतिरिक्त १० रन पायो । कर्णालीका लागि सोमपाल कामी र हुसैन तालतले समान २/२ विकेट तथा मार्क वाट र नन्दन यादवले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाएका थिए ।
यस्तै, हुसेन तलातले ४० रन, पवन सर्राफले अविजित ३० रन, गुल्शन झाले २० रन र मार्क वाटले १७ रनको योगदान दिए । काठमाडौँका लागि करण केसीले २ विकेट लिए भने शाह आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौँले दोस्रो खेलमा पहिलो जित निकालेको हो । कर्णाली याक्सले भने पहिलो हार बेहोरेको छ । यसअघि कर्णालीले जनकपुरलाई १९ रनले र विराटनगर किङ्ग्सलाई चार विकेटले हराएको थियो ।