काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा युएईलाई ३७ रनले पराजित गरेर नेपालले विजयी शुरुवात गरेको हो ।
नेपालले जितका लागि दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रनमै समेटियो । युएईका हर्पितसिंह भाटियाले सर्वाधिक ३९ रन बनाए ।
कप्तान मुहमद वासीमले ३४ रन र आकाशदीप नाथले ३० रन बनाएका थिए । युएईका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट तथा दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले समान १/१ विकेट लिएका थिए ।
.jpg)
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए । दीपेन्द्र प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, कुशल भुर्तेलले २४ रन, करण केसीले २२ रन, बसिर अहमदले २० रन, आरिफ सेख र सोमपाल कामीले समान १५/१५ रन बनाएका थिए । भीम सार्कीले १० रन बनाएका थिए भने आसिफ शेखले ७ रन तथा कप्तान रोहित पौडेलले २ रन जोडेका थिए ।
बलिङमा युएईका लागि अजय कुमार र जुनैद सिद्धिकीले समान ३/३ विकेट लिएका थिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै; हैदर अली र मुहमद शहदादले समान १/१ विकेट लिएका थिए ।
लिग २ मा नेपालको छैटौं जितपछि २१ खेलमा १४ अंक रहेको छ र नेपाल हाल सातौं स्थानमा छ । पराजित युएईको २१ खेलमा १० अंक रहेको छ । अब सिरिज अन्तर्गत अर्को खेल सोमबार युएई र ओमानबीच हुदैछ ।