काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहिबार सम्पन्न दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो ।
विराटनगर किंग्सले दिएको १८७ रनको विशाल लक्ष्य पछाएको कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । कर्णालीका लागि कप्तान सोमपाल कामीले ३२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६२ रनको शानदार पारी खेलेका थिए ।
त्यस्तै पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकासहित ३६ रन, अरिफुल इस्लामले १२ बलमा ३ चौका र ३ छक्कासहित ३२ रन ३२ रन, दीपक डुम्रेले २० रन र गुलशन झाले अविजित २८ रनको योगदान दिएका थिए ।
विराटनगरका लागि एंगेलो म्याथ्युजले सर्वाधिक ३ विकेट लिए । चरिथ असलंका, प्रतिश र कप्तान सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले ५२ बलमा ३ छक्का र ९ चौकासहित सर्वाधिक ८७ रन बनाए ।
त्यस्तै एन्जेलो म्याथ्युजले ३१ रन, आन्द्रे रसेलले २७ रन र बसिर अहमदले १३ रनको योगदान दिएका थिए । कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मार्क वाट र नन्दन यादवले समान १/१ विकेट लिएका थिए ।
यो जितसँगै कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो ।