काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानमाथि शानदार जित निकालेको छ । ओमानको अल अमेरात स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो ।
खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो । कप्तान विनायक शुक्लाले ७७ रनको तारिफयोग्य इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।
यस्तै, जय ओडेड्राले २५ रन र जतिन्दर सिंहले १८ रन जोडे । ओमानका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले २ विकेट तथा करण केसी र ललित राजवंशीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए । ओडिआईमा रोहितको यो १३ औं अर्धशतक हो । सिरिजको पहिलो खेलमा रोहितले शतक बनाएका थिए ।
यस्तै, अर्जुन कुमालले ४० रन, इशान पाण्डे र बसिर अहमदले समान ३७/३७ रन, दीपेन्द्र सिंह ऐरीले २२ रन तथा करण केसीले आक्रामक ४० रनको योगदान दिए । करणले १६ बलमा ४ छक्का र १ चौका प्रहार गरे ।
बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले समान २/२ विकेट लिए । यस्तै, हसनइन शाहले १ विकेट लिएका थिए ।
जारी शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले क्यानडालाई २४ रनले हराएको थियो । ओमानले भने यसअघि क्यानडालाई ४१ रनले पराजित गरेको थियो ।
यस जितसँगै नेपालले लिग–२ तालिकामा ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ । अब नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छ ।