काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिबार मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।
जितसँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ । खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रन बनाउँदा अल आउट भयो ।
युएईका लागि राहुल चोपडाले शतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनी १०० रनमा नटआउट रहे । यस्तै, शोहैब खानले ५२ रन तनिश सुरीले ४२ रन, हरप्रीत सिंहले ३३ रन जोडे ।
बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरेका थिए ।
शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । यस्तै, गुलशन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले सर्वाधिक ४ विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले समान १/१ विकेट लिएका थिए । नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो ।