काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम गरेको छ । बिहिबार सम्पन्न आफ्नो चौथो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले जितका लागि दिएको १ सय ४४ रनको लक्ष्य सुदुरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदुरपश्चिमको लागि ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्कासहित अविजित सर्वाधिक ६९ रन बनाए ।
ओपनर जोश ब्राउनले ९ रन, क्रिस लिनले १६ रन र आरिफ शेखले ३९ रनको योगदान दिए । हर्मित सिंह ७ रनमा अविजित रहेका थिए । बलिङमा लुम्बिनीका लागि रुवेन ट्रम्पल्मेन, अभिषेश गौतम र तिलक भण्डारीले समान १/१ विकेट लिए ।

त्यसअघि, टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाए ।
दीलिप नाथले ३१ रन, डार्सी सर्टले १८ रन, सुमित महर्जनले १८ रन र गुल्वदिन नाइवले ११ रन बनाउँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि अविनास बोहरा र हरमित सिंहले समान ३/३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने स्कट कुगेलाइनलले १ विकेट लिएका थिए । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो ।
सुदूरपश्चिम लगातार चौथो जितसँगै ४ खेलबाट ८ अंक जोड्दै प्लेअफ नजिक पुगेको छ । लगातार तेस्रो हार बेहोरेको लुम्बिनीको ४ खेलबाट जम्मा २ अंक मात्र रहेको प्लेअफ सम्भावना भने झिनो बनेको छ ।