काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्समाथि शानदार जितसँगै लुम्बिनी लायन्सले तेस्रो जित निकालेको छ । बुधबार सम्पन्न खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको हो ।
जितसँगै ६ खेलमा ६ अंक जोडेको लुम्बिनीले प्लेअफ सम्भावना कायम राखेको छ । पराजित विराटनगरको ६ खेलबाट ८ अंक रहेको छ । विराटनगरले जितका लागि दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रनको अर्धशतीय योगदान दिए । यसैगरी निरोशन डिवेलाले अविजित २९ रन, सन्दीप जोराले २४ रन, दिलिप नाथले १६ रन र सुमित महर्जनले १० रन बनाएका थिए ।
बलिङमा विराटनगरका लागि सुवास भण्डारी र कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिएका थिए । बसिर अहमदले १ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए ।
यसैगरी बसिर अहमद २८ रन, साम हिटलेट २७ रन, फाफ डु प्लेसिस १२ रन र प्रतिश जिसी ११ रनमा आउट भएका थिए । मार्चेन्ट डि लिङ १० रन र कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहेका थिए ।
बलिङमा लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले समान १/१ विकेट लिएका थिए ।
भोलि बिहीबार पहिलो खेल ११ः४५ मा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।