काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरालाई हराउँदै काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो ।
काठमाण्डुले ७ खेलबाट २ हार ५ जितसहित प्लेअफमा स्थान बनाएको छ । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ । काठमाण्डुले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १ सय ५२ रनमा समेटियो ।
पोखराका लागि ऋषि धवनले ३१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै धनन्जय लक्षनले ३० रन, कप्तान कुशल भुर्तेलले २२ रन र जेशन रोयले १६ रन बनाउँदा पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा काठमाण्डुका लागि शाहव आलमले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
भीम सार्कीले २३ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन बनाए बनाए । छैटौं विकेटका लागि भीम र चार्ल्सवर्थले ८४ रनको साझेदारी गरेका थिए । मिलिन्द कुमारले १३ रन बनाउँदा काठमाण्डुका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा पोखराका लागि धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले २ विकेट तथा विपीन खत्री र किरण ठगुन्नाले समान १/१ विकेट लिएका थिए । आज दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।