प्रोत्साहन, रुचीको पहिलो खुड्किलो हो । जो कोहि आफूलाई रुची भएको विषयप्रति लाग्न परिवारका सदस्य वा साथीभाई त्यसमै संलग्न भएको खण्डमा धेरै नै सजिलो हुन्छ । परिवारको प्रेरणा, साथ र सहयोग त सदैव हुन्छ नै तर आफूले इच्छाएको कुरा प्रोत्साहनबिना हासिल गर्न कठिन झेल्नुपर्ने हुन्छ । प्रोत्साहित गर्ने परिवारका सदस्य वा साथीभाई नभएपछि आफूले रुचाएको क्षेत्रमा लाग्न ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । यस्तै वातावरण थियो रामकृष्ण श्रेष्ठ (राम बोस)को पनि । परिवारका कोहि सदस्य पनि खेल क्षेत्रमा लागेका थिएनन् । तर खेलकुद भनेपछि मरिहत्ते गर्ने उनी आजभन्दा २५ वर्ष अघिदेखि रंगशाला गएर फुटबल हेर्न छुटाउदैन थिए । खेलकुद क्षेत्रलाई हृदयदेखि नै माया गर्ने उनी आजभन्दा १५ वर्ष अगाडी एएफसी प्रेसिडेन्ट कप प्रतियोगिता हुँदा एक सय रुपैयाँ पर्ने टिकट ब्लाकमा पाँच सयमा किनेर भएपनि खेल हेर्ने गर्थे । बच्चैदेखि खेल हेर्न रुचाउने उनी विशेष गरी थ्री स्टारका गेमहरु छुटाउदैन थिए ।
बुबा पूर्णकृष्ण श्रेष्ठ र आमा सानुमाया श्रेष्ठका चार सन्तानमध्ये दोस्रो सन्तानको रुपमा मध्यपुर ठिमीमा जन्मिएका उनी उत्सुक्ताका साथ भन्छन्, ‘स्कुल पढ्दा खेलकुदको दर्शक मात्रै थिए । बच्चादेखि नै खेल हेर्न चाख दिन्थे, थ्री स्टारको गेमहरु खुब हेर्थे, त्यसको त म फ्यान नै थिए ।’ खेलकुदमा सानैदेखि रुची र रहर भएकै कारण किकोशिन करातेको खेलाडीसम्म बनेका उनी फुटबलका गेम भनेपछि उत्सुकताका साथ हेर्न गइहाल्थे । राष्ट्रिय खेलाडी बन्ने मौका नजुरेका उनी शुरुमा थ्री स्टार क्लबमा लाइफ मेम्बर भएर खेल क्षेत्रमा छिरेका हुन् । पछि बोर्ड मेम्बर हुँदै टिम म्यानेजर भएर विभिन्न देश विदेशमा आफ्नो भूमिका निर्वाह गरिसकेका र गर्दै आइरहेका उनी अहिले खेलकुद क्षेत्रमा ‘राम बोस’ बाट परिचित छन् । क्लबमा छिरेपछि खेलप्रतिको लगाव, खुबी र उत्सुकता देखेर टिम म्यानेजर बनाइएका उनी ‘राम बोस’ नामलाई खेलकुद क्षेत्रबाट पाएको मायाको उपमा हो, भन्छन् ।
आमाबुबा र अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष एवम् थ्रीस्टार क्लबका अध्यक्ष स्व.ललितकृष्ण श्रेष्ठ तथा भारोत्तोलन खेलका स्व.सुनिलराज जोशीलाई प्रेरणाको श्रोत मान्ने राम बोस, खेल क्षेत्रमा धेरै नै रुचाइएका एक पात्र पनि हुन् । थ्री स्टार क्लबमा म्यानेजर भएपछि पहिलो पटक २०६८ सालमा आहा गोल्डकप खेल्न गएको उनको टिम त्यतिबेला च्याम्पियन बनेको थियो भने दोस्रो पटक २०६९ सालमा लिग च्याम्पियन बन्यो । उनकै नेतृत्वमा २०६९/७० मा एएफसी पे्रसिडेन्ट कपको पहिलो चरण काठमाडौंमा र दोस्रो चरण मेलेसियामा भएका थियो ।
त्यहि सफलतालाई जीवनमा भएको पहिलो सबैभन्दा ठूलो उपलब्धि मान्ने उनी थ्री स्टार क्लबको टिम म्यानेजर भएको करिब ६ वर्षपछि भारोत्तोलनमा समेत आवद्ध भए । भारोत्तोलनमा आवद्ध भएपछि सन् २०१६ फेब्रुअरीमा भारतको गुँवाहाटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद साग गेममा भारोत्तोलन खेलको टिम म्यानेजर भएर गएका थिए । त्यस गेममा नेपालले चारवटा मेडल ल्याउन सफल भएको थियो । उनको टिमले ल्याएको त्यो मेडल भारत्तोलनकोे अर्को ठूलो उपलब्धि बन्यो । जुनबेला, उनी नेपाल भारोत्तोलन संघको केन्द्रिय उपाध्यक्ष थिए । वि.सं.२०३६ सालमा स्थापित उक्त संघको मनोनित उपाध्यक्ष भएको चार वर्षपछि उनी पहिलो पटक निर्वाचित अध्यक्ष भए । स्थापनाकालदेखि अहिलेसम्मको भारोत्तोलनको इतिहासमा संघको पहिलो पटक २०७६ माघ १८ मा भएको चुनावमा उनी निर्वाचित अध्यक्ष भएका हुन् ।
भारतोलनबाट १२औँ दक्षिण एसियाली खेलकुद (साग) गेममा टिम म्यानेजर भएदेखि खेलाडीप्रतिको व्यवहार, व्यवस्थापकको काम, कर्तव्य आदि राम्रोसँग निर्वाह गरेका श्रेष्ठले त्यसपछिका दिनमा खेलक्षेत्रबाट पछाडि फर्किनु पर्ने अवस्था आएको छैन । भारोत्तोलन खेलमा विगतमा कसले के गर्यो/गरेन भन्दा पनि धेरै खेलहरु भइसक्दा पनि अहिलेसम्म भारत्तोलन संघको आफ्नै अफिस भवन नभएको र संघको खातामा पैसा नभएको गुनासो गर्दै उनी भन्छन्, ‘हालसम्म यसको आर्थिक पक्ष शुन्य अवस्थामा रहेपनि व्यक्तिगत रुपमा मलाई केहि पनि चाहिँदैन, बरु राम्रो खेलाडी कसरी बनाउने भन्ने मेरो प्रमुख उद्देश्य हो ।’ आफू संघमा सक्रिय रुपमा आवद्ध भएदेखि नै भारोत्तोलन खेललाई कसरी अगाडि बढाउने भन्ने तिरै ध्यान दिने गरेको बताउने उनी थप्छन्, ‘१३औँ दक्षिण एसियाली साग गेम सकिए लगत्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालसँगको भेटघाटमा भारोत्तोलन खेलसम्बन्धी धेरै छलफल भएको थियो । उहाँ पनि खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर चासो राख्ने हुनुहुँदो रहेछ । मेरो पनि भविष्यको योजना भनेको भारोत्तोलनलाई कसरी व्यवस्थित गर्ने, खेलाडीलाई के कस्तो र कहाँबाट सुविधा ल्याउने भन्ने नै हो ।’
नेपालमा सबभन्दा बढी अन्तर्राष्ट्रिय मेडल ल्याउने भारोत्तोलन खेल हाल नेपालको २१ जिल्लामा विस्तारित छ । तर, यसलाई सातवटै प्रदेशका अरु धेरै जिल्लाहरुमा विस्तार गर्ने सोच बनाएका राम बोस यो अरु खेलहरु जस्तै साधारण खेल नभएर गाह्रो खेल भएकाले यसको जति विकास हुनु पर्ने हो त्यति हुन नसकेको बताउछन् । राष्ट्रिय खेलकुद परिषद्ले बजेट दिएपछि मात्रै खेलकुद गरिने हाम्रो देशको अवस्थाबारे भने उनी भिन्न सोच राख्छन् । आगामी दिनमा संघ तथा व्यक्तिगत पहलबाट भएपनि निजी क्षेत्रलाई आवद्ध गराएर वर्षको चार/पाँच वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्ने उनको विचार छ ।
खेलाडीका लागि पहिलो प्राथमिकता भनेको खेलकुदको माहोल राम्रो हुनु हो । त्यहि माहोल बनाउन सदैव तल्लिन हुने राम बोस विभिन्न खेलमा आवद्ध खेलाडीहरुलाई भ्याएसम्म सहयोग गर्न अघि सर्ने गर्दछन् । प्रोत्साहनस्वरुप खेलाडीहरुलाई आफ्नै खर्चमा ट्रयाकसुट लगायतका विभिन्न खेलकुदका सामाग्रीहरु तथा प्लेनको टिकटसमेत सहयोग गर्दै आएका उनले १२औँ दक्षिण एसियाली खेलकुदमा नेपाल पुलिस क्लबको तर्फबाट खेल्ने सबै खेलाडीहरुलाई र बैंकक जाने कराँतेको टिमलाई एक पटकमा ६० जोरसम्म ट्रयाकसुटका साथै अन्य विभिन्न खेल सामाग्रीहरु सहयोग गरेका थिए । विभिन्न खेलमा आवद्ध खेलाडीहरुलाई समेत खेल सामाग्री सहयोग गर्दै आएका उनी समाजसेवामा समेत सदैव अग्रसर हुने गरेको देखिन्छ ।
खेलक्षेत्रमा सबैले रुचाइएका उनी खेलकुदकै सिलसिलामा करिब ३० वटा देशमा प्रतियोगिताहरु लिएर गइसकेका छन् । पछिल्लो समय ब्राजिल र अमेरिकाको एक कार्यक्रममा सम्मानित भएका उनले अन्य धेरै देशबाट पनि सम्मान पाइसकेका छन् । भारात्तोलन र फुटबल मात्र नभएर कराँतेका विभिन्न इभेन्टहरुमा पनि अष्ट्रेलिया, अमेरिका, बैंकक, सिंगापुर आदि ठाउँहरुमा टिम म्यानेजर भएर गएका उनी आफ्ना यि सब कार्य खेलकुद क्षेत्रबाट पाएको माया स्नेह हो, भन्छन् ।
आफ्नो व्यवसायलाई थाति राखेर भएपनि खेललाई पहिलो प्राथमिकता दिने उनी खेल क्षेत्रमा खर्च गर्दा धेरै आत्मासन्तुष्टी हुने गरेको बताउछन् । उनी भन्छन्, ‘नेपालका जुनसुकै खेलका खेलाडी किन नहुन, उहाँहरुलाई सहयोग गर्न पाउदा मलाई भित्रैदेखि खुसी लाग्छ ।’ प्रायजसो खेलाडीहरुले स्पोन्सर वाई राम बोस लेखिएको ट्रयाक सुट र टिसर्टहरु लगाएका देखिन्छन्, ती सबै उनैले व्यक्तिगत रुपमा लाखौं खर्चिएर खेलाडीहरुलाई उपलब्ध गराएका हुन् । निकट भविष्यमा भारोत्तोलन खेलको लागि व्यवस्थित ट्रेनिङ्ग सेन्टर साथै होस्टेल बनाउने सोच राखेका उनले संसारभरी माहामारीको रुपमा फैलिएको कोभिड–१९ साम्य भएपछि खेलकुदका विभिन्न योजनाहरु सार्वजानिक गर्ने विचारमा छन् । हाल दशरथ रंगशालाभित्र रहेको ट्रेनिङस्थल अव्यवस्थित र कम क्षमताको भएकोले त्यसलाई विस्तार गर्नको लागिपर्ने बताउँदै उनी भन्छन्, ‘खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद्को त्यहि ट्रेनिङ्ग एउटै हलभित्र मात्रै उचाल्ने, बजार्ने गर्छन् । कहिले काहिँ त्यहाँ ट्रेनिङ्ग गरिराखेका खेलाडीहरुलाई देख्दा खिन्न लाग्छ । विदेशमा जाँदा हामीले त्यहाँका ट्रेनिङ सेन्टरहरु व्यवस्थित एवम् सुविधा सम्पन्न देखिराखेका हुन्छौं, त्यहि भएर यहाँको ट्रेनिङ्ग सेन्टरमा पनि परिवर्तन गर्नुपर्ने छ । हाम्रोमा राष्ट्रको लागि गोल्डमेडल ल्याउने खेलाडी हुन या भर्खर आउने खेलाडीहरु सबै एकै ठाउँमा खेलिराखेका हुन्छन् । अरु गेममा राष्ट्रिय टिम भनेर छुट्याइएको हुन्छ, भारोत्तोलन खेलमा हालसम्म त्यसरी छुट्याएर खेलाउने गरिएको छैन ।’ विभिन्न खेलका खेलाडीहरुलाई संघहरुले दिएजस्तो भारोत्तोलन खेलका खेलाडीलाई पनि पाँच हजार मात्रै भएपनि मासिक खर्चको व्यवस्था गर्ने विचार गरेका राम बोस आफ्नो चार वर्षे कार्यकालमा भारोत्तोलन खेललाई नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीको साथ साथै निजि क्षेत्रहरुसँग सहकार्य गरेर अगाडी बढाउने र खेलाडीको स्तरअनुसार भारोत्तोलन खेलको पनि ट्रेनिङ्ग सेन्टर छुट्याएर बनाउने सोचमा छन् ।
अहिले कोभिड–१९ को समयमा पनि भारोत्तोलन खेलको समग्र विकास एवम् विस्तारको निमित्त विभिन्न जिल्लाहरुमा विभिन्न माध्यमहरुबाट समन्वय गरिराखेका उनी कोरोना संक्रमण फैलिनु भन्दा छ/सात महिना अगाडि गेमको सिलसिलामा ब्राजिल र अमेरिकामा थिए । कोभिड–१९ ले गर्दा सबै खेल बन्द भएजस्तै उनका विभिन्न योजनाहरु पनि यतिबेला स्थगित भएका छन् । कोरोनाका कारण घरभित्रै बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै उनले केहि समयपछि प्लस टू देखिका विद्यार्थीहरुलाई तालिम गराएर विद्यालयस्तरबाट नै यो खेलको शुरुवात गर्ने विचार गरेका छन् । उनी भन्छन्, ‘यो खेल हेब्बी छ । त्यसैले बच्चाहरुलाई यसको ट्रेनिङ्ग गराउन गाह्रो छ । यसमा पनि क्याटवरी वाइज नै हुन्छ । बच्चाहरु खेल्न नमिल्ने त होइन, विदेशतिर बच्चाहरु पनि खेलिराखेका हुन्छन् । यहाँ चाहिँ त्यस्तो माहोल बनिसकेको छैन । यसमा मेरो विभिन्न योजनाहरु थियो, तर यो कोभिड–१९ ले गर्दा सबै योजनाहरु थाती रहन पुग्यो ।’ नयाँ नयाँ खेलाडीहरु उत्पादन गरी फुटबल, भारोत्तोलन लगायतका खेललाई बढावा दिई निरन्तरता दिने विचारमा रहेका राम बोस अन्त्यमा नेपाली खेलकुदलाई ओझेलमा पर्न नदिने प्रतिवद्धता गर्छन् ।