काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाण्डुले जनकपुरलाई ५ विकेटले पराजित गरेको हो ।
जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डुका लागि वेन चाल्र्सवर्थले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए । काठमाण्डुका लागि ओपनर आकाश र इङलिस ब्याटर चाल्सवर्थले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।
भिम सार्की ३ रन, मिलिन्द कुमार १९ रन तथा जोन सिम्पसनले १३ रनको योगदान गरे । मोहम्मद आदिल आलम ८ रन तथा जेरार्ड इरास्मस १ रनमा अविजित रहेका थिए ।
बलिङमा जनकपुरका लागि किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले ४१ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।
मयन यादवले २९ बलमा २ चौका र १ छक्कासहित ३४ रन तथा लाहिरु सिमारकूनले २१ बलमा २ छक्कासहित २२ रनको योगदान गरेका थिए । यसैगरी लाहिरु मिलान्थाले ७ रन, जान निकोल लोफ्टी इन्टोन २ रन, सञ्जय कृष्णमूर्ति २ रन बनाए । रुपेश सिंह ४ रनमा अविजित रहे ।
बलिङमा काठमाडौंका लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक ३ विकेटले लिए । कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा भोलि दुई खेल हुनेछन् । पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच तथा दोस्रो खेल दिउसो ४ बजे विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।