प्युठान जिल्ला, माण्डवी गाउँपालिका–२ (साविक) मर्काबाङ–२ मा तेजबहादुर घर्तीमगर र सीवादेवी घर्तीमगरको कान्छो छोराको रुपमा ३६ बर्ष अघि जन्मिएका कालीबहादुर घर्तीमगर, मार्शल आर्ट्स हाप्किडो राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडी हुन् । छोटो समयमा नै खेलकुद र सामाजिक क्षेत्रमा फड्को मार्न सफल उनी खेलाडीको रुपमा मात्र नभई खेल क्षेत्रको व्यवस्थापकीय र प्रशासनिक रुपमा समेत परिचित छन् ।
बाल्यकालदेखि नै नयाँनयाँ कुराहरु सिक्न रुचाउने र जीवनमा नयाँ गोरेटोको खोजी गर्न रमाउने घर्तीमगर मार्शल आर्ट्समा केन्द्रित खेलाडी हुन् । १२ वर्षको उमेरदेखि नै आफ्नो गाउँका दाजुभाईले लाहुरेको लागि गरेको तालिम देखेर आफूले पनि मार्शल आर्ट्स कराते तालिम सिक्न थालेको बताउने उनी कराते खेलकै सिलसिलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सेमिनारमा सहभागी भएका छन् । विद्यालयस्तरदेखि नै जिवनमा भोगेका थुप्रै आरोह अवरोहको मुकाबिला गर्दै उनले कराते खेलको साथसाथै मार्शल आर्ट्स हाप्किडो खेललाई अहिलेसम्म निरन्तरता दिएका छन् । ग्लोबल हाप्किडो संघ अमेरिकादेखि मार्शल आर्ट्स हाप्किडो सातौं डान ब्लाक बेल्ट उनले लिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो प्रतियोगिता तथा सेमिनारहरुमा सहभागी हुँदै आएका उनीले खेलजीवनमा हाप्किडोमा थुप्रै पदक जितेका छन् । हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मार्शल आर्ट्स हाप्किडो प्रशिक्षण दिदैँ आएका उनी अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो मास्टर हुन् ।मार्शल आर्ट्स हाप्किडो अन्तर्राष्ट्रिय रेफ्रीसमेत उनी मार्शल आर्ट्स हाप्किडोमा पायनीयरका रुपमा परिचित छन् । सातौं डान ब्लाकबेल्ट रहेका उनकै नेतृत्वमा नेपालमा हाल यो खेल अघि बढेको छ । खेलकुद र सामाजिक क्षेत्रमा आवद्ध उनी हाल नेपाल मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष छन् । विभिन्न संघ संस्थाहरूमा आवद्ध रहेका उनी हालसम्म नेपाल स्वयंसेवक प्रशिक्षक महासंघका उपाध्यक्ष र दक्षिण एसिया हाप्किडो महासंघको अध्यक्षको जिम्मेबारी समालिरहेका छन् ।
बाल्यकालमा नै आफूलाई मार्सल आर्ट्समा केन्द्रित गरेका घर्तीमगरकै नेतृत्वमा राष्ट्रियस्तरका मार्शल आटर््स हाप्किडो प्रतियोगिता तथा सेमिनारहरु सफल भएका छन् । सानैदेखि केहि न केहि गर्नुपर्छ भन्ने सोचाई राख्ने उनी भन्छन्, ‘असम्भव भन्ने कुरा केहि पनि हुँदैन, मेहनत, इमानदारिता, लगनशीलता र काममा निरन्तरता भयो भने इच्छा, लक्ष्य, उद्देश्यहरु अवश्य प्राप्ति हुन्छ । खेल मानव जीवनको लागि अति अनिवार्य हो । खेलले जीवन, समाज र देशलाई स्वस्थ बनाउँछ । त्यो मात्रै नभइकन खेलले समाज र देशलाई एकता, भावना, मेलमिलाप, शान्तिमा परिणत गर्दछ । लामो समयदेखिको द्वन्द्वमा रहेका दक्षिण कोरिया र उत्तर कोरिया खेलमार्फत नै शान्ति सम्झौतामा परिणत भएकोलाई उदाहरणको रुपमा लिन सकिन्छ ।’
करातेमा आबद्ध भएसँगै पढाईमा निक्कै अब्बल उनले औपचारिक अध्ययन भने स्नातकसम्म मात्र गर्न सकेको बताउँछन् । उनले खेलजीवनमा धेरै उपलब्धिहरु हासिल गरेका छन् । बेल्जियम डच सिन मो. हाप्किडो संघको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी (बेल्जियम), यूरोपियन हाप्किडो यूनियन जर्मनीको सेमिनारमा सहभागी (जर्मन), यूरोपियन हाप्किडो यूनियन बिग अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी (क्रोसिया), थाईल्याण्ड हाप्किडो महासंघको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनारमा प्रशिक्षकको रुपमा सहभागी(थाईल्याण्ड), अष्ट्रेलियन हाप्किडो संघको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी(अष्ट्रेलिया), स्कटल्याण्डमा अन्तर्राष्ट्रिय मार्शल आर्ट्स सेमिनारमा सहभागी(यूके), यूरोपियन हाप्किडो सम्मिटमा सहभागी(अष्ट्रिया), अन्तर्राष्ट्रिय हाप्किडो फेष्टिभल यूरोपियन कांग्रेसमा सहभागी(अष्ट्रिया), मार्शल आर्ट्स अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी(जापान), कोरिया तथा वल्र्ड मार्शल आर्ट्स हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी(दक्षिण कोरिया), द यूनियन अफ हाप्किडो फेडेरेशन अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा सहभागी(रसिया), द यूनियन अफ हाप्किडो फेडेरेशन अन्तर्राष्ट्रिय हाप्किडो रेफ्री सेमिनारमा सहभागी(रसिया), इण्डिया हाप्किडो संघको आयोजनामा भएको एसियन हाप्किडो सेमिनारमा सहभागी(भारत) लगायत विभिन्न मुलुकमा सहभागी उनले खेलकुदमा पाएको उपलब्धि र सम्मानको उच्च मूल्यांकन गरी नेपाल तथा विभिन्न देशहरूबाट अवार्डहरू समेत प्राप्त गरेका छन् ।
कोरिया तथा वल्र्ड मार्शल आर्ट्स हाप्किडो महासंघद्वारा आयोजित अवार्ड कार्यक्रममा ‘प्लेयर अफ द एयर वल्र्ड अवार्ड’ (दक्षिण कोरिया), मार्सल आर्ट्सको प्रतिष्ठित हल अफ फेम ‘इंस्ट्रक्चर अफ द एयर अवार्ड’(इन्डोनेसिया), मार्शल हिरोईज हल अफ अनर्स मास्टर अफ दि अवार्ड(इटाली), मनास्लु मिडियाद्वारा संचालित ऐतिहासिक मनास्लु राष्ट्रिय सर्वोत्कृष्ट खेलाडी अवार्ड(नेपाल), मार्शल आर्ट्स करभ मगा प्रशनल प्रोटेक्शन टाइटल अवार्ड(इजराइल), म्युनिक हल अफ अनर्स ‘अन्तर्राष्ट्रिय हाप्किडो मास्टर अफ द एयर अवार्ड’(जर्मन) लगायत प्रतिष्ठित अवार्ड पाइसकेका घर्तीमगर विभिन्न संघ संस्था तथा निकायबाट पनि सम्मानित भएका छन् । एनआरएन दक्षिण कोरियाबाट सम्मानित, मगर भुम्या पर्व प्रतिष्ठान आयोजनामा गृहमन्त्रीबाट सम्मानित, दक्षिण कोरिया सरकारबाट सम्मानित, दक्षिण कोरिया राप्ती समाजबाट सम्मानित, नेपाल मगर संघको आयोजनामा उपराष्ट्रपतिबाट सम्मानित, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीबाट सम्मानित, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाबाट सम्मानित, नेपाल सितोरियो कराते शाखा डोजो नक्साल अन्तर्राष्ट्रिय कराते आयोजनामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) बाट सम्मानित, नेपाल मगर संघ(हङकङ)बाट सम्मानित, नेपाल मगर संघ (यूके) बाट सम्मानित घर्तीमगरले खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान उच्च राखेका छन् ।
खेलकुदमा निरन्तर त्याग, खेलप्रति लगाव, समर्पित र संघर्षले गर्दा नै घर्तीमगरले आफ्नो पहिचान बनाउनुको साथसाथै परिवार, समाज र देशको शिर ठाडो बनाएका छन् । उनी विलक्षण प्रतिभाका एक उच्च श्रेणीका अन्तर्राष्ट्रिय खेलाडी, मास्टर तथा व्यवस्थापक हुन् । उनले खेलजगतबाट अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीलाई चिनाएर ठूलो योगदान पुर्याएका छन् । उनको योगदानको प्रशंसा जति गरे पनि कम नै हुन्छ ।