काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो ।
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । ओपनर आसिफ शेखले ३७ रन, भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन बनाए । सोमपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
अमेरिकाको लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिएका थिए । उनले ८.१ ओभरमा एक मेडनसहित जम्मा २७ रन खर्चिए । शुभम रन्जानेले २ विकेट लिँदा रुसिल उगारकरले १ विकेट लिएका थिए ।

त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २ सय ६२ रनको योगफल बनाएको थियो ।
अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाएका थिए । उनले १०० बल खेल्दै ९ चौका प्रहार गरे । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ रन र शुभम् रञ्जनेले १९ रन जोडेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५६ रन दिएर सर्वाधिक २ विकेट लिए । सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।
जितसँगै अमेरिका २१ खेलमा ३० अंकका साथ नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै १७ खेलमा १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । नेपालले अब बिहिवार युएईसँग खेल्नेछ ।