काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले तथा दोस्रो खेलमा घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको थियो । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले १ सय १ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाएका थिए । मिलिन्ड कुमारले ६६ बलमा ७ चौका र १ छक्कासहित ७० रनको योगदान गरे ।
यसैगरी शायन जहान्गिरले ३६ रन, कप्तान मोनांक पटेलले २१ रन, शुवम रन्जानेले १९ रन, सन्जय कृष्णमुर्तीले अविजित १५ रन र हरमित सिंहले अविजित १३ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यसैगरी नन्दन यादव, करण केसी र गुलशनकुमार झाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७१ रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाएका थिए ।
करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन बनाए । यसैगरी ओपनर कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहितकुमार पौडेलले ३७ रन बनाएका थिए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।
बलिङमा अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक ३ विकेट लिएका थिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान २/२ विकेट लिए । जसदिप सिंह र शुभम रन्जानेले समान १/१ विकेट लिएका थिए ।
जितसँगै अमेरिका २३ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा छ । हारसँगै १९ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । युएई १८ खेलबाट ८ अंकका साथ पुछारमा छ । अब नेपालले बुधबार युएईसँग खेल्नेछ ।