काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
काठमान्डुले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै गुमाएर पूरा गर्यो । विराटनगरका लागि जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाएका थिए ।
लोकेश बल १४ रन, मार्टिन गुप्टिल २५ रन, बसिर अहमद १९ रन र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ रन र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहेका थिए ।
बलिङमा काठमाण्डुका लागि शाहव आलमले सर्वाधिक २ विकेट लिए । कप्तान करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । काठमाण्डुका लागि मोहम्मद आदिल आलमले २५ बलमा ४ चौका र २ छक्कासहित अविजित सर्वाधिक ४८ रन बनाए ।
वेन चार्ल्सवर्थले ३२ रन, सन्तोष यादवले २६ रन र गेह्राड एरामसले १० रनबनाउँदा काठमाण्डुका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । जोन सिम्पसन ७ रनमा अविजित रहेका थिए ।
बलिङमा विराटनगरका लागि मार्चेन्ट डि लिङगेले सर्वाधिक २ विकेट लिए । शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।
लगातार जितसँगै विराटनगरले २ खेलबाट ४ अंक बनाएको छ । यसअघि पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो । लगातार दोस्रो खेलमा पराजित काठमाण्डुले ३ खेलबाट २ अंक बनाएको छ । काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।