५ जेठ । विश्व र्याफ्टिङ च्याम्पियनसिपमा नेपाल समग्रमा दशौं भएको छ । आइतबार अन्तिम स्पर्धाको रुपमा डाउन रिभरमा छैटौं स्थान हासिल गरेपछि नेपाल समग्रमा दशौं भएको हो ।
अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टूली नदीमा भएको प्रतियोगितामा सबैभन्दा मुख्य बिधा मानिएको डाउन रिभरको स्पर्धामा नेपालले ४६ मिनेट ४८.३० सेकेण्डमा पूरा गरी छैटौं भएको हो । यस स्पर्धामा पहिलो भएको न्युजिल्याण्ड (४४ मिनेट ५८.४१ सेकेण्ड) भन्दा नेपाल १ मिनेट ४९.८९ सेकेण्डले पछि परेको हो ।
समग्रमा नेपाल ६७२ अंकसहित दशौं भएको हो । स्लालोम स्पर्धामा १३ औं भएका कारण नेपालको समग्र पोजिसन खराव बनेको हो । स्प्रिन्टमा पाचौं भएको नेपाल हेड टू हेडमा नवौं र डाउनरिभरमा छैटौं भयो ।
कुल १ हजार अंकमध्ये ९०९ अंक हासिल गरी ब्राजिल विश्व च्याम्पियन बनेको छ । ब्राजिलको टिम चारमध्ये २ स्पर्धामा पहिलो भएको थियो भने हेड टू हेडमा पाँचौं र डाउनरिभरमा तेस्रो भएको थियो ।
७ अंकले विश्व च्याम्पियन बन्न नसकेको रुसका खेलाडीहरु मुख्य बिधा मानिएका स्लालोम र डाउनरिभरमा दोस्रो तथा स्प्रिन्ट र हेड टू हेडमा तेस्रो भएका थिए ।
डाउनरिभरमा पहिलो भएपछि ३ सय ५० अंक जोडेर समग्र पोजिसनमा उल्लेख्य सुधार गरेको न्युजिल्याण्ड ८७३ अंकसहित समग्रमा तेस्रो भयो । न्युजिल्याण्ड स्प्रिन्ट र हेड टू हेडमा चौथो तथा स्लालोममा पाँचौं भएको थियो ।
र्याफ्टिङमा चार विधाको १ हजार पूर्णांकमा प्रतिस्पर्धा गरिन्छ । स्प्रिन्टको १००, हेड टू हेडको १५०, स्लालोम र डाउनरिभरको समान ३५० अंक हुन्छ ।