काठमाडौं, ४ असोज — नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाने भएको छ ।
सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउने छन् ।
पुरुषमा रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् ।
टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् । प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसंगै थाइल्यान्ड जाँदैछन् ।
किङ्स कपमा नेपालले २९ औं संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसएता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिदै आएको छ । २०७२ को भूकम्पका कारण नेपालले ३१ औं संस्करणमा सहभागिता जनाएन ।
सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९ औं संस्करणमा नेपालले पुरुष रेगु, ३० औंमा पुरुष रेगु र डबल्स तथा ३२ औंमा महिला रेगुमा कांस्य पदक जितेको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिदाइ गरे ।