काठमाडौं : हङकङविरुद्धको जित्नैपर्ने खेलमा पराजय बेहोरेपछि नेपाल अर्को साताबाट सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट हुन असफल भएको छ। नेपाल मंगलबार भएको महत्वपूर्ण खेलमा हङकङसँग तीन विकेटले पराजित भएको हो।
यससँगै नेपालले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पनि खेर फालेको छ। जारी छनोट प्रतियोगिताको विजेता एक टोली यही सेप्टेम्बर १५ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसिया कप क्रिकेटमा छनोट हुनेछ। छनोट हुने सो टोलीले एसिया कपको समूह ‘ए’मा रहेर भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
नेपाललाई यही अवसर सदुपयोग गर्न जारी छनोट प्रतियोगिताको उपाधि जित्नुपर्ने थियो। त्यसअघि फाइनलमा स्थान सुरक्षित गर्न मंगलबार हङकङलाई भारी अन्तरले पराजित गर्नुपर्ने थियो। अनि त्यसपछि अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरेको नतिजा कुर्नुपर्ने थियो। यद्यपि अर्काे खेलमा यूएईले ओमानलाई १३ रनले पराजित गर्नुअघि नै हङकङसँग पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना समाप्त बनिसकेको थियो। हङकङविरुद्धको खेलमा नेपालको पराजयको कारण कमजोर ब्याटिङ प्रदर्शन बन्यो।
क्वालालम्पुरको बांगीस्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय गरेको नेपाल ३७.५ ओभरमा ९५ रनको सामान्य योगफलमै समेटिन पुगेको थियो। जवाफी ब्याटिङमा आएको हङकङले ३२.३ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो। सामान्य योगफल जोगाउने प्रयासमा नेपाली बलरहरूले निकै मेहनत गरे पनि सफल भएन।
युवा स्पिनर सन्दीप लामिछाने एक्लैले हङकङको पाँच विकेट लिए। १० ओभरमा दुई मेडनसहित २७ रन खर्चिएका सन्दीपले प्रारम्भिक ब्याट्सम्यान क्रिस्टोफर कार्टर, कप्तान अन्सुमान रथ, बाबर हायात, किन्चित शाह र ईशान खान जस्ता हङकङका भरपर्दा ब्याट्सम्यानलाई आउट गराएका थिए।
यद्यपि सन्दीपको बलमा ज्ञानेन्द्र मल्लद्वारा क्याच आउट हुनुअघि नै कप्तान अन्सुमानले टोलीको जितको आधार तय गरिसकेका थिए। उनले ५२ रनको अर्धशतकीय पालि खेल्नु नै नेपालको पराजयको मुख्य कारण बन्यो। उनीबाहेक किञ्चित शाहले ११ रन जोड्नुबाहेक अन्य खेलाडीलाई दोहोरो संख्यामा रन जोड्नुअघि नै नेपाली बलरहरूले आउट गराएका थिए।
सन्दीपबाहेक वसन्त रेग्मी र सागर पुनले हङकङको एक÷एक विकेट लिएका थिए। बांगीको बलिङ पिचमा नेपाली ब्याट्सम्यानहरूले भने अझ धेरै संघर्ष गरेका थिए। नेपालले खेलको पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। खेलको पहिलो बलमै प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल आउट भएका थिए। त्यसपछि कप्तान पारस खड्का १४, उपकप्तान ज्ञानेन्द्र मल्ल १२, अनिलकुमार शाह १५, दीपेन्द्रसिंह ऐरी दुई तथा सागर पुन सात रन जोड्दै आउट हुन पुगे। नेपालका लागि आरिफ सेखले जोडेको १८ रनको योगफल नै हङ्कङविरुद्ध कुनै पनि नेपाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन बन्यो।
वसन्त रेग्मी १५ रनमा अविजित रहँदा सन्दीपले दुई रन जोडे। सोमपाल कामी र ललितनारायण राजवंशीले कुनै पनि रन जोड्न सकेनन्। हङ्कङका ईशान खान एक्लैले नेपालको चार तथा ऐजाज खान र तन्विर अफ्जलले दुई÷दुई विकेट लिएका थिए।