दिल्ली, १७ भदाै – भारतीय कप्तान विराट कोहलीले अर्काे साताबाट संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट नखेल्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपमा कप्तान विराटलाई आराम दिएको छ ।
उनको अनुपस्थितिमा रोहित शर्माले एसिया कपमा भारतीय टोलीको नेतृत्व गर्नेछन् । भारतीय टोलीको उपकप्तानको जिम्मेवारी शिखर धवनलाई दिइएको छ । भारतीय टोली अहिले इङ्ल्यान्डमा घरेलु टोलीविरुद्ध पाँच टेस्टको शृंखला खेलिरहेको छ । इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखला एसिया कप सुरु हुने चार दिनअघि मात्रै सकिनेछ ।
एसिया कप सकिएको सात दिन पनि नबित्दै भारतले वेस्ट इन्डिजविरुद्ध राजकोटमा अर्काे टेस्ट शृंखला खेल्दै छ । त्यसलगत्तै भारतीय टोली अस्टे«लिया भ्रमणमा जानेछ । राष्ट्रिय टोलीको निरन्तर व्यस्त खेल तालिका रहेकाले टिम छनोट समितिले विराटलाई आराम दिने निर्णय गरेको हो ।
‘निरन्तरको खेलतालिका तथा कप्तान र टोलीको मुख्य खेलाडीको हैसियतले उनले खेल्नु परेको जिम्मेवारीका कारण उनलाई हामीले आराम दिने निर्णय गरेका हौं’, टोली छनोट समितिका अध्यक्ष एमएसके प्रसादले भने, ‘किनभने उनी आईपीएलदेखि निरन्तर खेलिरहेका छन् । इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको दौरान पनि म त्यहीँ पुगेर उनीसँग यस विषयमा छलफल गरेको थिएँ । त्यसैले उनलाई आराम दिने निर्णय गरिएको हो ।
छनोट समितिले विराटसँगै राष्ट्रिय टोलीबाट टेस्ट, टीट्वेन्टी र एकदिवसीय तीनवटै ‘फम्र्याट’को क्रिकेट खेल्ने खेलाडीहरूलाई बिस्तारै आराम दिइने पनि बताए । छनोट समितिका अध्यक्ष एमएसकेले विराटलाई आराम दिए पनि एसिया कपमा भारतको बलियो टोली पठाइने बताए । उनले हाल इङ्ल्यान्डमा टेस्ट शृंखला खेलिरहेकामध्ये धवन, केएल राहुल, दिनेश कार्तिक, हार्दिक पान्ड्या र जसप्रित बुमराहलाई भने आराम नदिइने जनाएका छन् । एसिया कप यही सेप्टेम्बर १५ देखि ३० सम्म यूएईमा हुँदै छ ।