काठमाडाैं, १४ भदौ - इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोको दोश्रो दिन बिहीबार पनि नेपाली खेलाडी भएका छन् ।
जेसीसी प्लेनरी हलमा भएको महिलाको ५७ केजीमुनि भियतनामकी नुयेनले नेपालकी मनिता श्रेष्ठ प्रधान तथा ६३ केजीमुनि आयोजक इन्डोनसियाकी युली अदे्रल्ला फ्राडिभ्ताले नेपालकी फुपुल्हामु खत्रीलाई पराजित गरे । पुरुष ७३ केजीमुनि साउदी अरबका फहाद सुलैमान हमादले नेपालका सन्जित डंगोललाई हराए ।
शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठ तथा महिला ७८ केजीमुनि पुनम श्रेष्ठले खेल्नेछन् ।
टेबलटेनिसः नविताको मिश्रित प्रदर्शन
जेआईई एक्सपो हल बीमा भइरहेको टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मिश्रित प्रदर्शन गरेकी छन् । पहिलो चरणमा नविताले मकाउकी फेइ सुट तमलाई ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरिन् । अर्कोमा नविताले हङकङकी केम होइ डुलाई ११–५, ११–१, ११–६ र ११–७ ले नतिजा सुम्पिइन् ।
महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई ११–९, १३–११, ११–६ र ११–६ को सोझो सेटमा हराइन् ।
पुरुष सिंगल्समा मंगोलियाका इर्डेनबयर चिन्बाटले नेपालका अमरलाल मल्ललाई ११–८, ९–११, ६–११, ११–८, ८–११, ११–२ र ११–५ तथा मकाउका छेन चि छियोङले नेपालका श्यान्टु श्रेष्ठलाई १२–१०, ११–८, ११–९, ७–११, ५–११ र ११–८ को सेटमा पन्छाए । बिहीबारको खेलसंगै टेबलटेनिसमा नेपालको चुनौती समाप्त भएको छ ।
सेपाकताक्रोः पाकिस्तान पराजित
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि प¥यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।
भलिबलः श्रीलंकासंग पराजित
पुरुष भलिबलमा नेपाल श्रीलंकासंग ३–१ ले पराजित भएको छ । १३ औं देखि १६ औं वरियाता निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २३–२५, २५–१६, २६–२४ र २५–२१ को सोझो सेटमा हरायो । अब नेपालले १४÷१५ स्थानका लागि भियतनाम र किर्गिस्तानबीचको विजेतासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
एथलेटिक्सः सरस्वती १४ औं
नेपालकी सरस्वती चौधरीले महिला १ हजार ५ सय मिटर दौडमा १४ औं स्थान हासिल गरेकी छन् । सरस्वतीले निर्धारित दूरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् ।