काठमाडाैं, १२ भदौ - इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत कुराँसमा नेपालको चुनौती समाप्त भएको छ ।
पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे ।
महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।
सेपाकताक्रोः नेपाल पराजित
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो । पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौती समाप्त भएको छ ।
स्केटबोर्डः नेरिश १५ औं
स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५ औं भएका छन् । १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५ औं भएका हुन् ।
प्लाराग्लाइडिङः नेपाल दोश्रो
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ । नेपालको कुल २७ सय ९८ अंक छ ।
पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक पुगेको छ । २१ सय ९२ अंकमा दक्षिण कोरिया तेश्रो स्थानमा छ ।
सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ । नेपालको २ सय १६ अंक छ । दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन् ।
स्क्वासः
नेपालले पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअद्धि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।
एथलेटिक्सः विश्वरुपा १३ औं
नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन् ।
भलिबलः नेपालको जित
पुरुष भलिबलको १२ देखि १८ औं स्थानको र्याङकिङ निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित गर्यो ।