काठमाडौँ, ५ भदौ — एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् ।
कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ ।
आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनने । आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।
तेक्वान्दोः तेश्रो दिन पनि पदकविहीन
एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ । एसिायली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।
तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए ।
महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।
महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।
बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।