काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८–५१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा १६–११ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा हाउण्ड्स र कीर्तिपुरले १६–१६ अंक जोड्दा हाफटाइम्सम्म हाउण्ड्सले ३२–२७ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर कीर्तिपुरले १८–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत देखाएको थियो । तर चौथो क्वाटरमा हाउण्ड्सले एकपक्षिय प्रदर्शन गर्दै १९–६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २६ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए । लगातार दोस्रो जितपछि हाउण्ड्सले ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । कीर्तिपुरको भने यो तेस्रो हार हो । कीर्तिपुरले पनि ५ खेलबाट ७ अंक नै जोडेको छ र पाँचौ स्थानमा छ ।
यस्ते मंगलबार राती सम्पन्न खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले प्लेबक्स एरेनामाथि एक अंकको रोमाञ्चक जित हात पारेको छ ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले प्लेबक्सलाई ७७–७६ ले पराजित गर्यो ।
गोल्डेनगेटले पहिलो क्वाटर १७–१५ र दोस्रो क्वाटर १८–१६ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म ३५–३१ को अग्रता बनाएको थियो । त्यस त्यसपछि प्लेबक्स खेलमा फर्कियो । तेस्रो क्वाटर प्लेबक्सले २०–१८ ले आफ्नो पक्षमा पार्दै अग्रता छोट्याएको थियो र चौथो क्वाटरअघि खेल रोमाञ्चक मोडमा पुगेको थियो । चौथो क्वाटर पनि प्लेबक्सले २५–२४ ले आफ्नो पक्षमा पार्यो । तर पनि खेल जित्न भने सकेन ।
अन्तिममा गोल्डेनगेट एक अंकले विजयी भयो । खेलमा गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे । गुरुङ म्यान अफ दि म्याच घोषित भए । चार खेलमा गोल्डेनगेटको तेस्रो जित हो भने प्लेबक्सको तेस्रो हार हो । गोल्डेनगेट ४ खेल बाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।