काठमाडौं । मिल्सबेरी ए लेभल्सद्वारा आयोजित मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगितामा माल्पी इन्स्टिच्युट गर्ल्स र ब्वाइज दुवै विधामा च्याम्पियन बनेको छ ।
आइतबार सम्पन्न गर्ल्सतर्फको फाइनल खेलमा माल्पी इन्स्टिच्युटले ग्लोबल कलेजलाई ४–२ ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा माल्पीकी सृजना गिरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
ब्वाइजतर्फको फाइनलमा माल्पी इन्स्टिच्युटले आयोजक टोली मिल्सबेरी ए लेभल्ससँग प्रतिस्पर्धा गरेको थियो । माल्पी इन्स्टिच्युटले मिल्सबेरी ए लेभल्सलाई १९–१३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।
खेलमा माल्पीका सेरन श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, मिल्सबेरीका अध्यक्ष सुशील दाहाल तथा कार्यकारी निर्देशक प्रिन्सिपल मोना दाहालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

आयोजकका अनुसार प्रतियोगिताले शैक्षिक उत्कृष्टतासँगै शारीरिक विकास, चरित्र निर्माण तथा नेतृत्व क्षमताको समग्र विकासमा मिल्सबेरीको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, प्रशिक्षक, निर्णायक, आयोजक तथा सहयोगीहरूलाई मिल्सबेरी परिवारले धन्यवाद ज्ञापन गरेको थियो । प्रतियोगिता समग्र रूपमा उत्साह, प्रतिस्पर्धा र खेल भावनाले भरिपूर्ण रहँदै सफलतापूर्वक सम्पन्न भएको जनाइएको थियो ।