काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज-गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।
फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो बंगला ब्वाइज-गर्ल्स दुवैमा विजेता भयो । बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको बास्केटबल फाइनलमा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ५६–४४ ले पराजित गर्यो ।
ज्ञानोदयको जितमा साइमन क्षेत्रीले २१ अंक योगदान गरे । गर्ल्सको उपाधि भिडन्तमा सुवेक्षा वज्राचार्यको ११ अंक सहयोगमा ज्ञानोदयले मल्पी इन्टरनेसनल स्कुललाई १६–१५ को साँघुरोअन्तरले हरायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय साइमन र सुवेक्षा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइज फुबटल फाइनलमा रातो बंगलाले आयोजक ज्ञानोदयलाई ३–२ गोलले पाखा लगायो । रातो बंगलाका सिद्धान्त राईले २ गोल गरे ।
बाँकी एक गोल आत्माघाती थियो । ज्ञानोदयका प्रकाश थापाले २ गोल फर्काए । गर्ल्सको फाइनलमा रातो बंगलाले एभीएमलाई २–० गोलले पन्छायो । श्रीयुक्ति शाह र प्रशंसा कंसाकारले गोल गरे ।
स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भएको प्रतियोगिताको फुटबलमा रातो बंगलाकाद्वय सिद्धान्त र श्रीयुक्ति उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु ए, स.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज-गर्ल्स बास्केटबलमा समान ८–८ टिम सहभागी थिए । फुटबलको ब्वाइजमा ९ तथा गर्ल्समा ६ टिमले भाग लिएका थिए ।