काठमाडौं । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गेरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियरमा गरी २८ स्वर्णका लागि भिडन्त हुनेछ ।
टिममा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । अनुमानित २० लाख खर्च लाग्ने तीनदिने प्रतियोगिताका खेलहरु खोपाटोलमा खेलाइने छ ।
हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । त्यसका लागि अध्यक्ष सिवाकोटी र हृदय निकेतनका प्रिन्सिपल करणसिंह गोयलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अध्यक्ष सिवाकोटीले सीतापाइला डोजाङका खेलाडी अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा लेजिड ब्रडर्सले सहयोग गर्ने बताए । लेजिड ब्रडर्स अस्ट्रेलियाको सिड्नेमा रहेको छ ।
पत्रकार सम्मेलनमा लेजिड ब्रडर्सका प्रतिनिधि एवं हृदय निकेतनका सञ्चालक सुसन दुलाल, तार्केश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष फिरोज श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजन भण्डारीलगायतको उपस्थिति रहेको थियो ।