काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा÷ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका अवसरमा खेलाडीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।
सोही अवसरमा विश्व प्रसिद्ध गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल एवं प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । संस्थातर्फ हिमालयन एक्सट्राइ प्रा.लि. र हिमालयन रनिङ क्लब, ललितपुर सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले एक कार्यक्रमबीच सम्मान गरे ।
साधारण सभाले वार्षिक प्रतिवेदन पारित गरेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् । विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको छ । साधारण सभाले आगामी वर्षका लागि १ करोड १० लाख बजेट पारित गरेको अध्यक्ष कुँवरले बताए ।