काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गर्ल्समा च्याम्पियन बने ।
ब्वाइजको फाइनलमा भ्याली पब्लिकले ड्याफोडिललाई ५६–४० ले पराजित गर्यो । भ्याली पब्लिकका अशोक विकले २१ अंक जोडे ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा फेरिल्यान्डले भ्याली पब्लिकलाई ३०–२५ ले हरायो । फेरिल्यान्डकी सन्दिपा राईले १७ स्कोर गरिन् । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा भ्याली पब्लिकका रिहान शेरचन तथा गर्ल्समा फेरिल्यान्डकी खुश्बु मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ तथा गर्ल्समा भ्याली पब्लिककै सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा ड्याफोडिलका काल्साङ तामाङ तथा गर्ल्समा फेरिल्यान्डकी फु ल्हामु लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
.JPG)
ब्वाइजमा रोजमेरी तथा गर्ल्समा बागमतीले अनुशासित टिमको उपाधि हात पारे । ब्वाइजमा क्यान्भास बसन्त ऋतु तथा गर्ल्समा ज्ञान संस्कार उदीयमान टिम बने ।
विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदिश प्रधान, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू र फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १६ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।