धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन्। राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे।
उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि आफ्नो नाममा लेखाएका हुन्। उपाधि सहित राहुलले नगद ५० हजार प्राप्त गरे। नेपाली एमेच्योर गल्फरले कुनैपनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलो पटक हो।
प्रकृत र सुन्दर राईले समग्रमा ७–ओभर १ सय ४७ को नतिजा निकाले। काउन्ट ब्याकमा प्रकृत दोस्रो भएका हुन्। प्रकृतले आज ३–अन्डर ६७ को स्कोर बनाए। उनले ३० हजार प्राप्त गरे। तेस्रो भएका सुन्दरले आज ४–ओभर ७४ को प्रदर्शन गरे। उनले २४ हजार प्राप्त गरे।
राम तामाङले ३–ओभर ७३ खेलेर कुल ८–ओभर १४८ सहित चौथो स्थान हासिल गरे। उनले २० हजार रुपैयाँ प्राप्त गरे। राजेश राईले ४–ओभर ७४ खेलेर १४९ स्कोर सहित पाँचौँ स्थानमा रहे। उनले १६ हजार नगद पुरस्कार पाए।
सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५) ले समान १ सय ५१ स्कोर गरे। काउन्ट ब्याकमा सुमन छैटौं, गजेन्द्र सातौं र पदम आठौं भए। उनीहरूले क्रमश १४ हजार, १३ हजार र १२ हजार पाए।
दीपेन्द्र राई (७४) र देउ कुमार राई (७६) ले समान १२–ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्ट ब्याकमा नवौ र दशौं भए। उनीहरूले क्रमश ११ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।
पहिलो दिनका लिडर राहुलले फ्रन्ट नाइनमा ३–अन्डर ३३ खेले। उनले दोस्रो, तेस्रो, चौथो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे। पाँचौँ होलमा एक सट खेर फाले। ब्याक नाइनमा १–अन्डर ३३ खेल्ने क्रममा १४औँ होलमा एक सट गुमाए पनि १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे।
दोस्रो भएका प्रकृतले फ्रन्ट नाइनमा प्रभावशाली ४–अन्डर ३२ को स्कोर निकाले। पहिलो होलमा बोगी खेपेपनि उत्कृष्ट कमब्याक गरे। दोस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे। उनले १–ओभर ३५ मा ब्याक नाइन सकाए। १२औँ होलमा एक सट बचाउँदा ११औँ र १४औँ होलमा बोगी खेले।
सुन्दरले चौथो होलमा डबल बोगी खेप्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन २–ओभर ३८ खेले। ब्याक नाइन उनले २–ओभर ३६ खेले। जहाँ ११औँ, १२औँ, १५औँ र १७औँ होलमा बोगी खेपे। १०औँ र १६औँ होलमा बर्डी प्रहार गरे।
बेलायतमा रहेका धरानका गल्फर देउ कुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा कुल ३८ खेलाडीले सहभागिता रहेको थियो। नेपालमै पहिलो पटक एमेच्योर गल्फमा नगद पुरस्कार प्रदान गरिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको थियो। जसले नेपाली गल्फ इतिहासमा ऐतिहासिक महत्व बोकेको छ।
विजयी खेलाडीहरुलाई देउ कुमार राई र दीपेन्द्र राईले पुरस्कार वितरण गरे। सह–प्रायोजक देउ कुमार राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगिता निरन्तर गर्ने बताए। उनले आगामी संस्करणमा पुरस्कार राशि बढाइने र विजेताले कम्तीमा ८० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए।
सह–प्रायोजक दीपेन्द्र राईले नेपाल गल्फ संघ र धरान गल्फ क्लबसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै एमेच्योर गल्फरको हितका लागि प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।