काठमाडौं । मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित गर्यो । मार्वलसको जितमा सिनेप शाहीले ८ अंक योगदान गरे । मार्वलस एक खेल अगावै समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको हो । यो समूहबाट सेवा सदन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । मार्वलस र सेवा सदनबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
आरोन कक्षपतिको १० अंक सहयोगमा भीएस निकेतनले माइलस्टोनलाई २४–१८ ले हराउदै समूह ‘बी’ को विजेता भयो । हारका बावजुद माइलस्टोन पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्यो ।
बुद्धनगरस्थित केएमसी स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमै गोल्डेनपिकले गोदावरी रेसिडेन्सियलबाट वाकओभर पाएर समूह ‘डि’ को विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । काठमाडौं जेभियर्स पब्लिक स्कुल यो समूहको उपविजेता हो ।
आयोजक केएमसी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ३१–२० ले पाखा लगाउदै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । यो समूहबाट बाल दीक्षा सदन विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र ग्रिन लन्सले क्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डले ओम ज्ञान मन्दिरबाट वाकओभर पायो भने ग्रिन लन्सले गोल्डेन फ्लावरलाई २२–१२ ले पन्छायो । ग्रिनफिल्ड समूह ‘ए’ तथा ग्रिन लन्स समूह ‘बी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेका हुन् । ग्रिन लन्सका रिक मगरले ११ स्कोर गरे । गोल्डेन फ्लावर पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल रह्यो ।
सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन रिब्सले मानाङ्क चिल्ड्रेनलाई ३१–२० तथा हिमालीले गोल्डेन फ्लावरलाई १७–६ ले पराजित गरे । रिब्सकी सुप्रिया मल्लले १३ तथा हिमालीकी राधा बोहराले ६ अंक जोडे । लिगको अन्तिम दिन बुधबार ९ खेल हुनेछ ।