काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोश्रो चरण बिहीबारदेखि हुने भएको छ ।
दोश्रो चरणमा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर फुटसल, भलिबल, एथलेटिक्स र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्रमा प्रतिस्पर्धा हुनेछ भने बाँकीमा छात्र÷छात्राको सहभागिता रहने छ ।
१२ टिमको सहभागिता रहने छात्रा फुटसल सृजना ज्ञानसागर माविमा खेलाइने छ । छात्र फुटसल र छात्र भलिबल सेक्रेड हार्ट माविमा हुनेछ । छात्र फुटसलमा १६ र छात्र भलिबल ८ टिमले खेल्ने छन् । एथलेटिक्स हल्चोकस्थित एपीएफमा हुनेछ ।
एथलेटिक्समा छात्र÷छात्रतर्फ समान ९–९ गरी १८ स्पर्धा समावेश छन् । ब्याडमिन्टनमा ६० खेलाडीले भाग लिने छन् । खेलकुद महोत्सवअन्तर्गत पहिलो चरणमा टेबलटेनिस, बास्केटबल, जुनियर फुटसल र बुद्धिचालको प्रतिस्पर्धा भएको ओप्सले जनाएको छ । पहिलो चरणमा करिब ७ सय प्रतिस्पर्धी सहभागी भएको अध्यक्ष खड्काले बताए ।
प्रतियोगिता संयोजक एवं ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझीले विद्यालयबीच सहकार्य, आपसी विश्वास र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउन विभिन्न सदस्य विद्यालयहरुलाई समूहगत खेलकुद समन्वयको जिम्मेवारी प्रदान गरिएको बताए ।
अध्यक्ष खड्काले विद्यार्थीको चौतर्फी विकासका लागि ओप्सले शिक्षासंगै खेलकुद र अन्य विभिन्न अत्तिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएको बताए ।
ओप्सका सचिव शिवप्रसाद अर्यालले यसै खेलकुद महोत्सवमा सहभागी विद्यालयका खेलाडीले विभिन्न खेलमा राष्ट्रको प्रतिनिधित्व गरिसकेको बताए । महोत्सव पुस २७ गतेसम्म चल्ने छ ।