काठमाडौं । बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ ।
बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
खुला पुरुष÷महिला, पुरुष भेट्रान र स्थानिय पुरुषमा १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै स्थानियको यु–१८ र यु–१६ छात्र÷छात्रा तथा आमा÷बुवा समूहको स्पर्धा पनि समावेश छन् । ४.५ किलोमिटर दूरीको हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १८ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाउने छन् । ‘वाक एन्ड टक’ विधा पनि राखिएको छ ।
पत्रकार सम्मेलनमा बेल्कोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङ र उप मेयर शिवप्रसाद दाहालले आगामी संस्करणदेखि दौडको दायरालाई अझ फराकिलो बनाउने योजना रहेको बताए ।
वडा ५ का अध्यक्ष मदन भुजेलले चर्चित खेलाडीको सहभागिताले गर्दा दौडको गरिमा अझ बढेको बताए । दौडका संस्थापक मोहन नेपालले दौडलाई सफल बनाउन स्थानियको विशेष सहयोग रहेको बताउदै दौडको सुरुआत कसरी भयो भन्ने बारे प्रकाश पारेका थिए । संस्थापक नेपालकै अग्रसरतामा दौडको सुरुआत भएको थियो ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले झिल्टुङ नेपालको कठिन दौड मध्येको एक भएको बताए । उनले दौडमा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको बताए । दौड कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः कोल्पुटारमै आएर टुंगिने छ ।