काठमाडौं । आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स र इबीए जुनियर ब्वाइजमा च्याम्पियन बने ।
स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७-४१ ले पराजित गार्ये । रेडियन्टका सुसनराज न्यौपानेले २२ अंक जोडे । सिनियर गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले आयोजक रेडियन्टलाई २३-१० ले हरायो ।
स्वर्णिमकी हिसी ल्हामु लामाले ११ स्कोर गरिन् । जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१-१७ ले पाखा लगायो । इबीएका दिगविजय पुरीले ४ अंक बटुले ।
सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने, सिनियर गर्ल्समा स्वर्णिमकी ओजस्वी बोहरा र जुनियर ब्वाइजमा इबीएका दिगविजयी पुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा आनन्दकुटी, सिनियर गर्ल्समा न्यु जेनिथ र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरे अनुशासित टिमको ट्रफी हात पारे ।
.JPG)
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, रेडियन्टका अध्यक्ष प्रभाकुमार पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२-१२ टिम सहभागी थिए ।