काठमाडौं । किस्क र एलाइट बास्केटबल एकेडेमीले तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामको उपाधि शनिबार जितेका छन् । दोहोरो उपाधि जितेको किस्क सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । एलाइट एसइइतर्फ पहिलो भयो ।
ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० ले पराजित गर्यो । किस्कका ब्रुक्स जेन्सेनले ८ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा किस्कले ज्ञानोदयलाई ८–६ ले हरायो । किस्कका जय महर्जनले ७ स्कोर गरे ।
एसइइको उपाधि भिडन्तमा एलाइटले आयोजक ओएसिसलाई १९–१५ ले पाखा लगायो । विजयी टिमका लागि प्रदिन बोहराले ८ अंक बटुले । एसइइको विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाए ।
एसइइमा एलाइटका प्रदिन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ओएसिसका जेसन राना मगर सर्वाधिक स्कोरकर्ता बने । दुवैले जनही ३ हजार नगद पुरस्कार हात पारे । एसइइ बाहेक अन्य २ विधामा भने नगद पुरस्कार राखिएको थिएन ।
सिनियर ब्वाइजमा किस्कका ब्रुक्स तथा जुनियर ब्वाइजमा किस्ककै जय ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने तथा जुनियर ब्वाइजमा ज्ञानोदयका युनिश स्याङ्तान सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई ओएसिसकी संस्थापक जानुका लिम्बू, कार्यकारी निर्देशक मिनकुमार लिम्बू र प्रिन्सिपल निलम भट्टराई, ओएसिसका प्रशिक्षक समेत रहेका राष्ट्रिय पुरुष बास्केटबल टोलीका खेलाडी विनोद महर्जनले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ ब्वाइज टिम सहभागी थिए ।