काठमाडौं । गोल्डेनपिक, पिस प्वाइन्ट र विच किडले माफ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गर्ल्समा च्याम्पियन बने ।
म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ)को आयोजनामा धन्यन्टरी फुटसलमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । एलेक्सिर र क्याम्ब्रिज तेश्रो भए ।
जुनियर ब्वाइजको फाइनलमा पिस प्वाइन्टले प्रस्फुटनलाई ४–० गोलले हरायो । जगत मन्दिर र शम्भावी तेश्रो बने । सिनियर गर्ल्सको उपाधि भिडन्तमा विच किडले पिस प्वाइन्टलाई टाइब्रेकरमा १–० गोलले पाखा लगायो । निर्धारित समयको खेलमा दुवै पक्षबाट गोल भएन । शम्भावी र प्रस्फुटन तेश्रो भए ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका विजय तामाङ, जुनियर ब्वाइजमा प्रस्फुटनका विपिन खत्री र सिनियर गर्ल्समा पिस प्वाइन्टकी रुविना बोगटी उत्कृष्ट खेलाडी घोषित भए । सिनियर ब्वाइजमा अनेक साउकोला, जुनियर ब्वाइजमा पिस प्वाइन्टका अरोष योञ्जन र सिनियर गर्ल्समा विच किडकी सुहाना मलेकर उत्कृष्ट गोलरक्षक चुनिए । सिनियर ब्वाइजमा पिस प्वाइन्टका प्रज्ञान राई (१२ गोल), जुनियर ब्वाइजमा पिस प्वाइन्टका कपिल गुरुङ (२१ गोल) र सिनियर गर्ल्समा विच किडकी रशिका तामाङ (५ गोल) सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो, माफकी अध्यक्ष इशु गुरुङ, महासचिव राजेश खरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गर्ल्समा १५ टिम सहभागी थिए । सिनियर ब्वाइजको पहिलो संस्करण हो भने सिनियर गर्ल्सको दोश्रो र जुनियर ब्वाइजको पाँचौं संस्करण हो ।