काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो ।
काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ । २९ वर्षीय अलेना अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनले एभिसी महिला च्याम्पियन्स लिग समेत खेलिसकेकी छन् ।
दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध पछि काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा काठमाडौंमा टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए । एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने जनाएको छ ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजन आगामी भदौ २० देखि २८ गते (सेप्टेम्बर ५–१३) सम्म हुनेछ ।