डिएन घिसिङ
काठमाडाैं, २३ साउन – गत साता सप्पन्न नेपाल उसु संघको साधारणसभाको कार्यक्रम विवादमा तानिएको छ । राखेप सदस्य सचिव केशव बिस्ट आफै प्रमुख अतिथि भएर उद्घाटन गरिएको कार्यक्रमको निर्वाचन नगराउदा विवादमा तानिएको हो ।
पछिल्लो केहि समयदेखि नेपाल उसु संघमा देखिएको विवाद साम्य हुनुको सट्टा अझै बढ्ने निश्चित भएको छ । साधारणसभा प्रतिनिधित्व गरेका एक प्रतिनिधिका अनुसार "सदस्यसचिव आँफै अध्यक्षको प्रत्यासी थिए ,जिल्लाबाट आउने प्रतिनिधिहरुलाई लबिङ गर्दै हुनुहुन्थ्यो।" आफ्नो अनुकुलताको माहोल नभएपछी राखेपबाट आउने निर्वाचन प्रतिनिधिलाई समेत रोकेका थिए।
सोही साधारण सभामा सदस्यसचिव विष्ट एकै छिनको लागि भन्दै हताँरिदै बाहिरिएका थिए। सञ्चार माध्यमलाई नेपाल उसु संघको नयाँ कार्य समितिलाई राष्ट्रिय खेलकुद परिषद्ले भने मान्यता नदिने सदस्य सचिव विष्टले प्रष्ट पारेका छन् । यता सोही सभालाई उसु संघको केन्द्रीय साधारणसभा हवला दिदै केन्द्रिय कार्यसमिति चयन गरिएको बताएका छन् ।
वीरबहादुर तामाङको अध्यक्षतामा १६ जना निर्वाचित र १२ जना मनोनित गरी २८ जनाको केन्द्रीय कार्यसमिति चयन गरेको बताएका छन् । संघले सोमबार जारी गरेको विज्ञप्तिमा ४८ जिल्ला र केन्द्रका २९ जना प्रतिनिधि उपस्थित साधारणसभाले तामाङको अध्यक्षतामा कार्यसमिति चयन गरेको उल्लेख छ । विज्ञप्तिमा संघको अध्यक्ष वीरबहादुर तामाङ, सहअध्यक्ष जनक बर्तौला, ८ जना उपाध्यक्षहरु प्रनिलध्वज कार्की, दीपक लामा, हरि थापा, शंकर थापा, विष्णु चन्द, दुश्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन, महासचिव लाक्पा छिरिङ लामा, सचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष लानम लामा र सह–कोषाध्यक्षमा ऋतु ग्याम्देन निर्वाचित भएको उल्लेख छ ।
त्यस्तै सदस्यहरुमा श्याम कृष्ण श्रेष्ठ, जंगबहादुर लामा, लब ढुंगाना, राजेन्द्र कुमार राई, भोजराज भट्ट, शुभराम मुनानकर्मी, सन्तोष बराइली, कृष्ण लामा, भक्त थापा, रती लामा, अम्बरकुमार थिङ, सुन्दर लामा, निर्मल लामा र नारायण गिरी रहेका छ्न।
किन विवाद हुन्छ उसुमा?
नेपाली उसुका प्रणेता प्रनिल ध्वज कार्किको पहलमा भित्रिएको उसु खेलले राष्ट्रिय स्तरमा दर्जनौ प्रतियोगिता आयोजना गर्नुका साथै नियमित अन्तर्राष्ट्रिय , क्षेत्रीय, एसियाली, विश्व प्रतियोगिता एवम् मल्टीस्पोर्ट जस्ता मह्त्वपुर्ण खेलमा समेत सहभागी जनाइसकेकाे छ ।
उसु खेलको लोकप्रियता मुलुकभित्र मात्र नभई नेपाली प्रणेताकै पहलमा क्षेत्रीय सार्क समिति गठन गरेर नेपाल उसु खेलमा अब्बल साबित भएको प्रमाणित गरिसकेका छन्। नेपाल उसु संघ स्थापना देखिनै प्रमुख प्रशिक्षकको हाइ कमान्डमा संचालित थियो। नेपालमा ३ दर्जनको हाराहारीमा उसुका राखेपका प्रशिक्षक रहेका छन।
उसु संघको केन्द्रीय कार्यसमितिमा क्रियाशीलता देखाउने प्राय तेस्रो पुस्ताका खेलाडीहरु छन् । पहिलो पुस्ता र तेस्रो पुस्ता बिचको वाक् युद्ध सबै भन्दा ठूलो विडम्बना उसुमा विद्यमान छ। दोस्रो पुस्ता अर्थात् परिषदकै प्रशिक्षकको ध्यान सधै प्रमुख प्रशिक्षकको पाउ मोल्ने र खेलाडी उत्पादन भन्दा पनि कसरी सुविधा लिने भन्नेमा मात्र रहेको छ । खेलाडी उत्पादनमा निकै सक्रिय रहेका स्वयं सेवक , प्रशिक्षक एवं उपाध्यक्ष राजिव महर्जन भन्छन् " केही व्यक्तिको स्वर्थले गर्दा संघ नै दाउमा राख्नु पर्ने बाध्यता छ।"
उनी अगाडि भन्छन् "खेलमा राजनीति हुनुहुदैन भन्छन् । तर , व्यवहारमा चाहिँ लागू गर्दैनन्।" आसन्न १८औ एसियाली खेलको तयारीको लागि उसु खेलाडीहरुलाई चीनमा प्रशिक्षणको व्यवस्था मिलाएको छ। विवादको समाधान समयमै भएन भने एसियाली गेम्समा समेत असर पर्ने देखिन्छ ।