काठमाडौं । थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ । आइतबार भएको यु १८ समुहको अन्तिम नतिजामा जेम्सले स्वर्ण पदक जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे ।
त्यस्तै, यु-१४ पुरुष तथा महिलातर्फ दुबै समूहको बुद्धिचाल प्रतियोगिता प्रतियोगीहरुले प्राप्त गरेको अंकको आधारमा निसर्ग वाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले काश्य पदक प्राप्त गरे । जुडो प्रतिस्पर्धामा पुरुषतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्स स्कुलले रजत तथा हार्दिक एकेडेमीले काश्य जितेका छन् । महिला जुडोतर्फ पनि नेपाल पुलिस स्कुलले नै स्वर्ण जिते । जेम्स स्कुलले रजत र नेपाल युवक सेकेन्डरी स्कुलले काश्य पदक प्राप्त गरे ।
त्यसैगरी तेक्वान्दोको पुरुष तथा महिलातर्फ विभिन्न तौल समूहको खेल सकिएपछि अङ्कको आधारमा पुरुषतर्फ जेम्स स्कुल प्रथम, नेपाल पुलिस स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् । महिलातर्फ जेम्स स्कुल प्रथम, रिजेन्ट रेसिडेन्सियल स्कुल द्वितीय र टेरेसा एकेडेमी तृतीय भएका छन् ।
फुटसल खेलतर्फ १८ वर्षमुनिका छात्र समूहबिचको फुटसल खेल सम्पन्न भएको छ । १० विद्यालयले भाग लिएको उक्त स्पर्धाबाट ब्लुबर्ड सेकेन्डरी स्कुल प्रथम, चेल्सी वर्ल्ड स्कुल द्वितीय र रातो बङ्गला स्कुल तृतीय भएका छन् । बास्केटबलको यु-१८ छात्रतर्फ जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज फाइनलमा प्रवेश गरेका छन् भने तेस्रो स्थानको लागि बर्नहार्ट कलेज र काठमान्डु वर्ल्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ । आइतबार भएको सेमीफाइनलमा जेभियर इन्टरनेसनल कलेजले बर्नहार्ट कलेजलाई ६६–४० ले र टाइम्स इन्टरनेसनल कलेजले काठमान्डु वर्ल्ड स्कुललाई ६५–५० ले पराजित गरेको थियो । यु–१८ छात्रातर्फ भने भएको सेमीफाइनल खेलमा भ्याली पब्लिक स्कुलले नामी कलेजलाई ५३–३४ ले र जेम्स स्कुलले रिब्स स्कुललाई २९–२२ ले पराजित गरी फाइनलमा प्रवेश गर्यो ।
त्यसैगरी यु–१६ छात्रतर्फको खेलमा सेन्ट जेभियर्स स्कुलले एलआरआई स्कुललाई ६६–५९ ले र मातृभूमि स्कुलले रातो बङ्गला स्कुललाई ४१–४० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो । फुटबल खेलतर्फ १२ वर्षमुनि छात्रसमूह अन्तर्गत सेमीफाइनलमा चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ३–० गोलले तथा एपिएफ स्कुलले ब्लुम नेपाल स्कुललाई १–० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो ।
१६ वर्षमुनि छात्रको सेमीफाइनलमा एपिएफ स्कुलले विनायक स्कुललाई ३–० गोलले तथा नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३–० को गोलले पराजित गरी फाइनल पुग्न सफल भयो ।
क्रिकेट खेलतर्फ १२ वर्षमुनि छात्रमा डिएभी स्कुल, जेम्स स्कुल,चेल्सी वर्ल्ड स्कुल र लिटिल एन्जेल्स स्कुल सेमिफाइलनमा पुगेका छन् । डिएभी स्कुलले एलआरआइ स्कुललाई २३ रनले, जेम्स स्कुलले भ्याली पब्लिक स्कुललाई ३३ रनले, चेल्सी वर्ल्ड स्कुलले रेडियन्ट रिडर्स स्कुललाई ३ विकेटले र लिटिल एन्जेल्स स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ८ विकेटले पराजित गरेको थियो ।