काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)बीच प्रायोजन सम्झौता भएको छ । सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो ।
सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘सलिकोको विश्वास र भरपर्दो प्रतिवद्धता हाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमा मात्र होइन, हाम्रो भविष्यलाई पनि सुरक्षित बनाउन मद्दत पुर्याउँछ । हामी एक साथ मिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाइमा पुर्याउने एक बलियो र विजयी साझेदारी निर्माण गर्दैछौं ।’
सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण सिर्जना गर्न सहकार्य गरिएकोमा जोड दिए । उनले भने, ‘हामीले टिमको हरेक सदस्यको विमा व्यवस्था गरेका छौं । यसले खेलाडीहरु निर्धक्क रुपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौं । यस सहकार्यलाई हामीले सुरुवातको रुपमा लिएका छौं र आउने दिनमा दायारा अझ फराकिलो हुँदै जानेछ ।’
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।