काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङको निर्णय लिएका हुन् ।
खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको थियो ।
नेदरल्यान्ड्स ५ अंकका साथ फाइनल पुगेको हो । शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको थियो । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्ड्स र नाममिबिया सम्मिलित छन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो ।
टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्ड्स एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।
घरेलु टोली नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख
नेदरल्यान्ड्सको टोली :
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह