काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी एफवान सफ्ट ग्रुपसँग ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएका छन् ।
नेपालको प्रमुख मध्येको एक वित्तीय प्रविधि (फिनटेक) समूह एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार कुमार पौडेल, ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो ।
एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा तीन खेलाडीसँग सम्झौता भएको थियो ।
‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं । यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो । यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ’, एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले सम्झौता कार्यक्रममा भनेका छन् ।
अलराउन्डर दीपेन्द्र सिंह ऐरीले असोज १० गते १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी दुर्लभ विश्व कीर्तिमान बनाएका थिए । ऐरी विश्वमै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् ।
दीपेन्द्र सिंह ऐरीले २०१७ देखी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पहिलो रोजाईमा खेल्दै आएका छन् । त्यस्तै रोहितकुमार कुमार पौडेलले २०१८ देखी र कुशल भुर्तेलले २०२१ देखी नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका छन् ।
रोहितकुमार कुमार पौडेल गतवर्ष नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । रोहित, कुशल र दीपेन्द्र नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् । तीनै ब्याटरले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् ।