काठमाडौं । हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गतको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुआत गरेको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
तीन राष्ट्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छ । इरानले बंगलादेशलाई हराए नेपाल सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।
मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो । एसियाली खेलकुदमा सहभागिता जनाएको पहिलो अवसरमा नै नेपालका लागि एक मात्र पदक नजिक पुगेको टोली महिला कबड्डी हो ।
भलिबल : महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित
महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो ।
समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।