काठमाडौं । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा नासभिल्ले एससीलाई सडन डेथमा १०–९ गाेलअन्तरले पराजित गर्दै मियमीले इतिहासकै पहिलो उपाधि जितेको हो ।
नासभिल्ले एससीको जेओडिस पार्क मैदानमा भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । निर्धारित पेनाल्टीसुटआउट समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निस्किएको थियो ।
पेनाल्टी सुटआउटमा नासभिल्लेका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मियमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नासभिल्लेका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको हो ।
त्यसपछि, दुवै टोलीका अन्य सबै खेलाडीले लगातार गोल गरेपछि ११औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मियमीका गोलरक्षक क्यालेन्डरले गोल गर्दा नासभिल्लेका गोलरक्षक पानिचोको प्रहार मियामीका गोलरक्षक क्यालेन्डरले बचाएका थिए ।
यसअघि, खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले गाेल गर्दै मियमीलाई सुरूवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७अौं मिनेटमा फाफा पिकाल्टले गोल गर्दै नासभिल्लेलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
सन् २०२० मा स्थापित इन्टर मियमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । अमेरिकी मेजर लिग सकर (एमएलएस) मा संघर्ष गरिरहेको टोलीले लिग्स कपमा भने मेस्सीको आगमनपछि सानदार प्रदर्शन गरेको थियो । मियमी अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए ।
मेस्सी बने सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र सर्वाधिक उपाधि जित्ने खेलाडी
यसै सिजन मियमीमा अनुबन्ध भएका मेस्सी सात खेलमा कुल १० गोलसहित उच्च गोलकर्ता बने । मेस्सी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । अर्जेन्टिनी स्टार लिओनेल मेस्सी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।
बार्सिलोना र पेरिस सेन्ट जर्मन (पिएसजी)का पूर्वखेलाडी मेस्सीले हालसम्म कुल ४४ उपाधि जितिसकेका छन् । मेस्सीले ४३ उपाधि जितेका ब्राजिलका ड्यानी अल्भेजलाई पछि पारेका हुन् । मेस्सीले करिब दुई दशक बार्सिलोनामा बिताउँदा ३५ उपाधि जितेका थिए ।
मेस्सीले सन् २०२१ पछि दुई सिजन फ्रेन्च क्लब पिएसजीमा रहँदा तीन उपाधि जितेका उनले अर्जेन्टिनाबाट पाँच उपाधि जितेका छन् । मेस्सी यही जुलाई ट्रान्सफर विन्डोमा दुई वर्षको सम्झौतामा पिएसजीबाट मियमी भित्रिएका हुन् ।